काठमाडौं– भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’का अनुसार यो वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि) ८.६४ प्रतिशत पुगेको हो।
गत वर्ष भदौ महिनामा मुद्रास्फिति ३.४९ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार पछिल्ला दुई महिनामा देशमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.१७ प्रतिशत भएको छ। त्यस्तै, यही अवधिमा गैरखाद्य तथा सेवा क्षेत्रमा पनि २ प्रतिशतको मूल्यवृद्धि भएको छ। गत वर्षको भदौ महिनामा खाद्य तथा पेय पदार्थमा २.५७ र गैरखाद्य तथा सेवा क्षेत्रमा ४.२२ प्रतिशतको मूल्यवृद्धि भएको थियो।
भदौमा खाद्य तथा पेय पदार्थहरु तथा फलफूलमा १७.२९, घ्यु तथा तेलमा १४.५३, रेष्टुरेन्ट तथा होटलमा १२.३०, मदिराजन्य पेय पदार्थमा १०.२४ र तरकारीहरुमा ९.९४ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।
त्यस्तै, खाद्य तथा पेय पदार्थभन्दा बाहेकका र सेवा समूहमा देखिएको मूल्यवृद्धिअन्तर्गत यातायातमा २३.४१, स्वास्थ्यमा १०.५५, फर्निसिङ तथा घरायसी उपकरणहरुमा ९.२५, शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुमा ७.६९ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै मूल्यवृद्धि तराईमा देखिएको छ। तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६ प्रतिशत देखिएको हो। काठमाडौं उपत्यकामा भने ७.६२ प्रतिशत मूल्यवृद्धि देखिएको छ। गत वर्ष भदौ महिनामा काठमाडौं उपत्यकामा ३.२३, तराईमा ३.६५, पहाडमा ३.९३ र हिमालमा ३.५१ प्रतिशत मूल्यवृद्धि देखिएको थियो।
राष्ट्र बैंकका अनुसार भदौमा निर्माण सामग्रीको मूल्यमा पनि भारी वृद्धि देखिएको छ। जसमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत देखिएको छ।
यस्तै, उपभोग्य वस्तुमा १२.९१, मध्यवर्ती वस्तुमा १५.९३ र पूँजीगत वस्तुमा ६.३६ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।
मूल्यवृद्धि भइरहँदा तलब तथा ज्यालादर सूचकांक भने ११.६८ प्रतिशतले बढेको छ। जसमध्ये तलब १२.३९ र ज्यालादर ११.४६ प्रतिशतले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।