काठमाडौं– चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
गत वर्षको सोही अवधिमा नेपालको रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्रै नेपालमा ९४ अर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९ प्रतिशतले वृद्धि भएको छ। दुई महिनाको अवधिमै १ लाख ३ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो।
त्यस्तै, दुई महिनाको अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।