काठमाडौं– निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधि सभा सदस्यका लागि बारा–४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घण्टे स्पष्टीकरण सोधेको छ।
उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडिओ प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो।
यस विषयमा निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै आयोगले ‘बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो?’ भनी पत्र पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।