काठमाडौं– रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ।
बुधबार न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेसी चढेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो।
बैंकिङ कसूरमा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि गुरुङ असोज २७ गते सर्वोच्च अदालत पुगेका थिए।
असोज ३० गते उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश थिएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफ्नो निर्णय सच्याउँदै गुरुङको उम्मेदवारी कायम गरेको थियो।
श्रेष्ठको इजलासले कात्तिक २ गते (बुधबार) दुवै पक्षलाई छलफलमा बोलाएको थियो। गुरुङले निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए। उनको माग अनुसार, अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले बुधबार दुवै पक्षलाई बोलाएको थियो।
तर, बुधबार मुद्दाको सुनुवाइ नभएकाले अब अर्को सुनुवाइबाट निर्णय नहुन्जेलसम्मका लागि गुरुङको उम्मेदवारी कायमै रहने भएको छ।
गुरुङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका थिए। यो क्षेत्रमा नेकपा (एमाले)को तर्फबाट विष्णु पौडेल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।