मलाई सत्यमोहन जोशीको बारेमा ‘सत्यमोहन’ पुस्तक लेख्ने सौभाग्य जुरेको थियो। मलाई उहाँको उक्त पुस्तक लेख्न प्रेरित गरेको नै उहाँको व्यक्तित्वले हो। देशप्रतिको जुन उहाँको माया थियो, त्यो देखेर नै मलाई उक्त पुस्तक लेख्न प्रेरणा मिलेको हो।
मेरो कालखण्डको मान्छेले पनि उहाँजत्तिको महान् मान्छेलाई भेट्न पायौं, देख्न पायौं यो निकै गौरवको कुरा हो। उहाँ वास्तवमा नै राष्ट्रलाई सर्वोपरि राखेर देशको माया गर्नहुन्थ्यो।
उहाँले यो विचार, त्यो विचार, यो गुट, त्यो गुटभन्दा पनि सबैभन्दा माथि राष्ट्रलाई राखेर माया गरेको मेरो बुझाइ छ। जोशीले राष्ट्रलाई योगदान पनि दिएको आधारमा हेर्ने हो भने उहाँले राष्ट्रलाई कति माया गर्नुहुन्छ थाहा पाउन सकिन्छ। राजनीति गर्ने मानिसले पनि म देशलाई माया गर्छु भनिरहेका हुन्छ। तर, मान्छेले के भन्यो भन्दा पनि के गर्यो भनेर हेर्न जरुरी हुन्छ। यसरी हेर्ने हो भने सत्यमोहनजत्तिको धेरै देशलाई माया गर्ने व्यक्ति मैले मेरो जीवनकालमा अरू कोही भेटेको छैन।
मैले उहाँको जीवनी कुनै योजनाबद्ध तरिकाले लेखेको थिइनँ। म उहाँसँग एक जना पत्रकारको हिसाबले नजिक थिएँ। पहिले पहिले समाचारकै लागि उहाँकोमा गइरहने भेटिरहने गरेको थिएँ।
पछिल्लो समयमा समाचार कक्षबाट अलि फुर्सदिलो हुँदै गएपछि म व्यक्तिगत रूपमा भेट्न जान थालें। यसरी भेट्ने क्रममा उहाँले आफ्ना विगतका कुराहरू खोल्दै जानु भयो। ती कुराहरूले म एकदमै प्रभावित भएपछि उहाँलाई भनें ‘यी कुरा हामीले कतै पढ्न र सुन्न पाएको छैनौं। यसलाई तपाईंले जसरी यो कुराहरू भनिरहनु भएको छ, त्यसरी नै यसलाई लिपिबद्ध गर्न अनुमति मिल्छ?’
जोशीले पनि मलाई सहजै अनुमति दिनुभयो। त्यसपछि मैले एउटा अनलाइनमा लगातार जोशीको जीवनी लेखें।
त्यो शृङ्खला लेख्न सुरु गरेको केही वर्षपछि मैले उहाँको जीवनी लेखिदिए हुन्थ्यो भन्ने कुरा व्यक्त गर्नु भयो। त्यही आधारमा मैले उहाँको नाममा पुस्तक ‘सत्यमोहन’ लेख्ने अवसर पाएको हुँ।
जोशीको बारेमा अन्य केही मानिसले पनि जीवनी लेखेका छन्। तर, पछिल्लो समयमा मैले लेखें।
मैले उहाँको जीवनी लेख्ने क्रममा धेरै सम्झन लायक घटनाहरू भएका छन्। किताबमा काम गर्दा रात, बिहान भन्ने हुँदैन। कहिलेकाहीँ राति अबेरसम्म पनि काम गरिन्छ। एकदिन म राति अबेरसम्म काम गर्दा उहाँको केही विवादमा आएको कुरा लेख्ने क्रममा पुगें। तर, यसका लागि उहाँलाई राति नै भेट्न मन लाग्यो। र, म राति नै उहाँको पाटनस्थित घरमा पुगें। उहाँको घरमा सबै जना सुतिसक्नु भएको रहेछ। तर, म गएको थाहा पाएपछि उहाँ उठेर कुरा गर्न तयार हुनुभयो।
जोशीको निवासमा पुग्नेहरू उहाँका लागि सरकारले केही नगरेको आरोप लगाउँथे। तर, उहाँलाई राज्यप्रति कुनै अपेक्षा वा चाहना नभएको बताउनु हुन्थ्यो।
राज्यले के गर्नुपर्थ्यो त्यो त मैले भन्न सक्दिनँ। उहाँको कसैसँग कुनै खालको अपेक्षा कहिले पनि थिएन। जोगी जस्तो मान्छे हुनुहुन्थ्यो। फलानोले मलाई यस्तो उस्तो गरिदिए हुन्थ्यो भन्ने खालको कुरा कहिले गर्नु भएन। आफ्नै सन्तानबाट पनि कहिले कुनै कुराको अपेक्षा राख्नु भएन भने राज्य त झन् टाढाको कुरा हो। राज्यलाई उहाँले गरेको योगदानको कदर गर्दै केही गरिदिनु राम्रो कुरा हो।
आजसम्म राज्यले के गर्यो, के गरेन त्यो फेरि बेग्लै पाटो होला। वास्तवमा उहाँको हकमा भने अरूले के दिन्छ भन्दा पनि मैले राज्यलाई के दिन सक्छु भन्ने नै प्राथमिकतामा थियो। उहाँले मलाई धेरैपटक भन्नु पनि भएको थियो ‘जुन बेला मैले यसको बारेका चिन्ता चासो राख्थें, त्यो बेला यो सम्मान मानपदवी केही भएन। तर, जब मैले चिन्ता र चासो राख्न छोडें अनि मात्र यो भयो।’
पछि सबैभन्दा बढी मान पदवी अलङ्कार प्राप्त गरेपनि उहाँमा त्यसको घमण्ड कहिल्यै भएको देखिनँ। त्यसैले होला राज्यले के दियो के दिएन भन्ने खालको सोचाइबाट माथि हुनुहुन्थ्यो।
मैले उहाँबाट जाने बुझेको सबै कुरा किताबमा लेखिसकेको छु नै। त्यसमा सबै कुरा अटाउने कोसिस गरेको छु। उहाँले जीवित रहँदै आफ्नो शरीर दान गर्नु भएको थियो। त्यो कुरा उहाँले भने अनुसार नै मैले पुस्तकमा लेखेको हुँ। उहाँको परिवारमा छोराहरूले उहाँको शरीर अस्पतालमा नै अनुसन्धानको लागि राखिने बताउनुभएको छ। यो निकै राम्रो कुरा हो।
उहाँको दुई छोराहरू नेपालमै हुनुहुन्छ। उहाँहरूले पनि सहजै अनुमति दिनुभएको छ। उहाँको परिवारमा तीन छोरा र तीन छोरी हुनुहुन्छ। जेठो र कान्छो छोरा यतै हुनुहुन्छ। माइलो छोरा क्यानडामा हुनुहुन्छ। जेठी र माइली छोरी नेपालमा नै हुनुहुन्छ। कान्छी छोरी भने अमेरिकामा हुनुहुन्छ।
‘सत्यमोहन’ पुस्तकका लेखक गिरीसँग गरेको कुराकानीमा आधारित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।