म भेगन हुँ। लामो समयदेखि दूध दही, महलगायत वस्तु प्रयोग गर्ने गरेको छैन। यसले मेरो शारीरिक र मानसिक स्वास्थ्य निकै राम्रो बनाएको छ। त्यसैले यसलाई अभियानको रूपमा अगाडि बढाउने उद्देश्यले केही समयदेखि ‘शाकाहारी बनौं अभियान’ सञ्चालन गर्दै आएको छु।
हाम्रो अभियानको मुख्य उद्देश्य भनेको नै मानिसहरूलाई स्वस्थ राम्रो बनाउने, मानिसको आयु लामो बनाउने, पशुप्रति दया–मायाको भाव जगाउने हो। यस्तै, मानिसहरूमा सकारात्मक सोचको विकास समेत गराउने काम गर्दै आएको आएका छौं। अहिले धेरै मानिसहरू यो अभियानमा जोडिएका छन्।
अहिले चाडबाडको मौसम छ। तर, यस्ता चाडबाडको अवसर पारेर मासुजन्य खाना खांदा मानिसको शारीरिक मात्रै हैन मानसिक स्वास्थ्यमासमेत प्रतिकूल असर परिरहेको छ। खानपानकै कारण समाजमा विकृति बढेको हाम्रो बुझाइ रहेको छ। मानिसहरूमा समस्याहरू बढ्नुमा पनि हाम्रो खानपानमा ध्यान नदिनु मुख्य कारण हो भन्ने हाम्रो बुझाइ छ।
खानपानको कारणले हाम्रो विचार गलत आउँछ। विचार गलत भएपछि हाम्रो क्रियाकलाप गलत हुन्छ र क्रियाकलाप गलत भएपछि समाजमा अराजकता फैलन्छ। त्यसैले समाज सुधार गर्नको लागि हामीले हरेक दिन खाने खानेकुरामा विशेष ध्यान दिनु आवश्यक छ।
हामीले दैनिक खानामा दालभात, ढिँडो, रोटी, दूध, मासुलगायतका चिज धेरै खान्छौं। यसमा हामीले खान नहुने चिज पनि छन्।
धेरै जसो मानिसले यस्ता चाडपर्वमा बली दिने नाममा धेरै जनावर मारेर खाने गरेका छौं। यसरी जनावरलाई क्रुर तरिकाले मार्दा उसको शरीरमा विकारयुक्त रसायनको उत्पादन भएको हुन्छ। त्यो रसायनयुक्त मासु मानिसले काँच्चै वा पकाएर खादा हाम्रो शरीरमा नकारात्मक असर पर्ने गरेको छ। जनावर मार्ने बेलामा उसको शरीरमा भएको रसायन विषमा परिणत भएको हुन्छ। त्यो विष मानिसले खाँदा हाम्रो शरीरमा सकारात्मक असर गर्ने त कुरै भएन नि! त्यस्तो खाना खाँदा मानिसको मनमा कू–विचार उत्पन्न हुन्छ।
नेपाली उखान नै छ–‘जस्तो आहार, उस्तै विचार’ फलफूल, सागपातलगायतका खाना खाने मानिस र मासु खाने मानिसको विचार नै फरक हुन्छ। यसको कारण हो, त्यो खानपान हिंसाबाट आएको छ। त्यही कारणले नै मानिसको मनमा नकारात्मक विचारहरू आउने गर्छन्।
अझ हामीले खाने खानाको कारणले नै शरीरमा विभिन्न प्रकारका रोगहरू देखा पर्ने गर्छन्। खाने आहार अनुसारको विचार हुने भएकाले नै शरीरमा फूर्ति आउँदैन। मनमा दिक्क मात्रै लाग्ने हुन्छ। यसरी केही काम गर्न दिक्क लाग्ने मानिस भएको समाजको विकास कसरी हुन्छ? देशको विकास कसरी हुन्छ?
राजसी खाना, तामसी खाना र सात्त्विक खाना गरी खानालाई मुख्य ३ भागमा बाँडिएको छ। राजसी खानामा अमिलो पिरो, गुलियो, रक्सी, जाँड, मासुलगायत पर्दछन्। तामसी खाना अन्तर्गत जनावर मारेर काँचो नै खानु हो। हाम्रै नेवारहरूले छ्वैला, कचिला खान्छन्। शरीरलाई आवश्यक नै नभएको जाँड रक्सी खाने गरेको पाइन्छ। यसलाई मैले दानवीय खाना भन्ने गरेको छु। र अर्को भनेको सात्त्विक खाना। यस अन्तर्गत हाम्रा ऋषि मुनीहरूले खाने खाना हो। हाम्रा ऋषि मुनीहरू जंगलमा बस्थे। कन्दमूल खान्थे। त्यसले गर्दा उनीहरूको विचार सफा थियो। त्यसैले उनीहरू ज्ञानी थिए, विद्वान थिए।
खाना सात्त्विक भएको कारणले नै उनीहरूको आयू लामो थियो। उनीहरूलाई रोगले पनि हत्तपत्त भेट्टाउन्नथ्यो। तर, समय परिवर्तन भएसँगै हाम्रो खानपानमा धेरै परिवर्तन आएको छ। हामी नक्कली खाना खान बाध्य छौं।
हामीले खाने जनावरहरुलाई पालन गर्दा नै नक्कली खाना खुवाउँछन्। जस्तै अहिले बजारमा बोइलर कुखुराको मासुको प्रयोग बढेको छ। तर, ती कुखुराहरूलाई अखाद्य वस्तु खुवाइने गरिन्छ। विभिन्न औषधि प्रयोग गरेर ३ महिनामा ठूलो हुने कुखुरालाई एक महिनामा नै ठूलो बनाइन्छ। त्यसैले हामीले मासु खाएका छैनौं, हामीले केमिकल खाइरहेका छौं।
गाई भैंसीलाई दूध धेरै आउने बनाउनको लागि विभिन्न प्रकारको औषधिहरू खुवाइने गरिन्छ। हामीले दूधमा पनि विषपान गरिरहेका छौं।
संसारमा मासु खानेहरूको संख्या ठूलो छ। त्यो मासु खानेहरूको कारणले समाजमा यो विचलन आएको मेरो बुझाइ छ। अब पनि हामी नसच्चिने हो भने मासु खाने मानिस मात्रै हैन, समाज नै रोगी हुँदै जाने देखिन्छ।
पर्वमा मासु नै खानुपर्ने भन्ने होइन
अहिले दशैं सबै मानिसहरूको घरमा हर्षोल्लासका साथ मनाइँदै छ। तर, चाडबाडको नाममा अवोध जनावरहरुको हत्या हुने गरेको छ। यस्ता पर्वहरू प्रेम, सद्भाव, माया बाँड्ने हुनुपर्नेमा त्यस्तो भएको पाइँदैन।
दशैं भन्ने बित्तिक्कै मासु खाने पर्व जस्तो भएको छ। मासुबिना पनि के दशैं? भन्ने भएको छ। मानिसहरू दशैंमा च्याङ्ग्रा, कुखुरा, खसी खानको लागि नै आएको जस्तो मान्ने गरेका छन्। त्यो हाम्रो राम्रो सोच हैन।
हामीले शाकाहारी खाना खाएर नै दशैं मनाउन सक्छौं। हामीले दैनिक खाने, दाल, भात, तरकारी, गेडागुडी, फलफूल खाएर नै यस्ता पर्वहरू मनाउन सकिन्छ। यसलाई नै हामीले विभिन्न परिकार बनाएर खायौं भने स्वास्थ्यका साथै राम्रो विचार बनाउन पनि सहयोग पुग्छ।
अर्को कुरा हामीले पर्वहरूमा अपच हुने गरी खाने गरेका छौं। यसले पनि शरीरमा नकारात्मक असर पर्ने गरेको छ। र मासु त झन् छिटो पच्ने कुरा हैन। हामीले फलफूल खाँदा चाँडै पच्छ, शरीरलाई आनन्द आउँछ। तर, मासु खाँदा पच्नको लागि समय लाग्ने भएकाले विभिन्न समस्या पर्ने गरेको छ।
मानिसले मासु छोडेर शाकाहारी जीवनयापन गर्न आवश्यक छ। शाकाहारी खाना नै स्वादअनुसारको हुने भएकाले अब किन अन्य जनावरको हत्या गरेर भोक मेटाउनुपर्यो?
अझ शाकाहारी खाना सस्तो भएकाले धेरै प्रकारका खानेकुराहरू हामीले खान सक्छौं। दशैंको नाममा मासु खाने, मादक पदार्थ खाने, जुवा तास खेल्ने गरेको देखिन्छ। सबै जना खुसी हुने, भाइचारा बढाउने पर्वमा हामीले कतै गलत परम्परा त बसाउन लागेका छैनौं? के हाम्रो खुसीको लागि जनावरहरुले ज्यान नै गुमाउनु पर्ने हो त? के हामीले हाम्रो पर्वहरूलाई काटमारको पर्व भनेर स्थापित गर्न लागेका त छैनौं?
दशैंको उद्देश्य त यस्तो होइन। असत्यमाथि सत्यको जित भएको अवसरमा हामीले मनाउने यो पर्व हामीले गलत तरिकाले मनाउँदै आएका छौं। यसलाई सच्याउन बेलैमा सोच्न जरुरी छ। पर्वमा काटमार होइन, आपसी सद्भाव र प्रेम फैलाऔं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।