परम्परागत रुपमा मनाइँदै आएको दशैंले हामीलाई भगवानको जीव तत्व, भगवती तत्व र परमात्मा तत्वको ज्ञान, बुद्धि विवेकजस्ता सबै कुरा आदान गर्छ। त्यसैका लागि हामी विजयादशमीमा मान्यजनको हातबाट टीका लगाउछौँ।
मान्यजनको हातबाट टीका किन लगाउने त? यसको छुट्टै कारण छ, जुन हाम्रो ऋषि परम्परासँग जोडिन्छ। अन्य कथा त बीचमा आएर मिसिएका मात्र हुन्।
हामी नेपालीहरुमा कोही पनि गोत्रविहिन छैनौं। हामी सबैको कुनै न कुनै गोत्र छ। गोत्रअनुसारका परम्परामा ऋषिहरु छन्। हामी तिनै गोत्रअनुसारका ऋषिहरुका सन्तती हौँ। ती ऋषिमार्फत ज्ञान, बुद्धि र विवेक हामीसम्म पनि आइपुगेको छ। त्यो ज्ञान अरु थप पाउन हामी मान्यजनबाट टीका लगाउँछौं। आगामी वर्षलाई प्रेरणा लिन्छौं।

प्राडा देवमणि भट्टराई
देवीको प्रसादबाट हामीमा राम्रो गुणको प्रवाह हुन्छ। आफ्ना मान्यजनबाट टीका लगाउँदा पनि यस्तो गुणको प्रवाह हुन्छ। नकारात्मक प्रभाव हटेर जान्छ, सकारात्मक प्रभाव आदान हुन्छ। सँगसँगै हामीमा भएको नकारात्मक उर्जा पनि हट्छ। उल्लासमय वातावरणदेखि हाम्रो मनबुद्धि लगायत सबै कुरा शुद्ध गर्नका लागि, ऋषि परम्परालाई कायम गरेर हाम्रो वंशको तल्लो पिँढीसम्म सार्नका लागि हामी दुर्गाभवानीको टीका लगाउँछौँ। विजयादशमी मनाउछौँ।
टीका र प्रसादका कारणले हाम्रा ऋषिहरुको उर्जा हामीमा आइरहन्छ। त्यसैले जुनसुकै वर्गको भए पनि उर्जा आदान गर्ने ठाउँ भनेको हाम्रा मातापिता र मान्यजनहरु हुन्। दशैँको माध्यमबाट हामी उनीहरुसँग उर्जाको आदान गर्न सक्छौं। त्योबाहेक उर्जा आदान गर्ने अरु कुनै उपाय छैन। त्यसकारण हामीले हाम्रा मान्यजनप्रति आदर–सत्कार गर्ने, दशैंमा भगवतीको टीका लगाउने गरेका हौँ। यसो गर्दा दशैं उल्लासमय हुन्छ। वर्षभरिका दुःख बिर्सिन्छ। सकारात्मक प्रभाव पाइन्छ।
हाम्रो पात्रको सबैभन्दा सुरुवातमा नै लेखिएको छ– एक अरब ९५ वर्षभन्दा पहिले नै सृष्टिको सुरु भएको हो। त्यो बेलादेखि हामीले देविदेवताको पूजा र उपासना गर्ने क्रम चलेको छ। यसबाट शक्तिको आदान गर्ने भएकाले यो अनादि परम्परा हो। अनादि परम्परा भएकाले दशैं यति नै बेला सुरु भएको भन्न भने सकिँदैन।
बीचमा अन्य कथाहरु पनि दशैंसँग जोडिँदै आएका छन्। ती कुनै भगवान रामसँग त कुनै विभिन्न देवीसँग जोडिएका छन्।
रामले भगवतीको आराधना गरेर, शक्तिको आराधना गरेर, उपासना गरेर, पूजा गरेर आफ्नो विजय प्राप्त गरेको घटना छ। अनादि परम्पराको रुपमा रहेको दशैंलाई सबैले आ–आफ्नो किसिमले उपयोग गरेका छन्।
दशैंमा पशुबली दिने चलन पनि छ। जति पनि हाम्रो पूजाआजा हुन्छन्, यज्ञ हुन्छन्, त्यहाँ कुनै न कुनै प्रकारको कमीकमजोरी वा हिंसा भएको हुन्छ भन्ने कुरा छ। हिंसा त हरेक कुरामा छ। हामीले तुलसी टिप्दा पनि, फूल टिप्दा पनि, साग टिप्दा पनि त्यहाँ हिंसा नै भएको छ। पशुमा त्यो हिंसा प्रत्यक्ष रुपमा देखिएको वा अनुभूति भएको मात्रै हो।
पशुबली एउटा शास्त्रीय परम्परा हो। त्यसको अनादर गर्नुहुँदैन। त्यसको विकल्पमा नरिवल, कुभिण्डोलगायत चढाउने पनि गर्न सकिन्छ। दशैंको बेलामा पशुबली भयो, हिंसा भयो भनेर बोल्ने भन्ने कुरा हुँदैन। यो कुनै पनि किसिमको अशास्त्रीय कुरा होइन।
विजयादशमीको दिन जया, विजया र अपराजिताको पुजा गर्छौं। त्यो पूजा विर्सजन गर्ने एउटा साइत हुन्छ। त्यो साइतमा हामी देवीको विसर्जन गर्छौं। यो वर्ष १० बजेर २ मिनेटको शुभ साइतमा गुरु तथा मान्यजनको हातबाट टीका, प्रसाद लगाएर भगवतीको प्रसाद लिएर, हाम्रा पिता पुर्खाका गुणहरु, असल चरित्रहरु आदान गर्दछौं। मान्यजनको समिपमा गएर उहाँहरुको हातबाट टीका लगाउछौँ।
यो परम्परा हाम्रा पछिल्ला पुस्ताहरुमा सार्दै जाने भएकाले आफ्ना गाउँका ठूला मान्यजनको हातबाट टीका लगाउने काम गर्छौं। यिनै कुराहरु विजयादशमीमा विशेष रुपमा सुरुबाट अन्तिमसम्म गरिन्छ।
टीका लगाउने वैदिक मन्त्रहरु धेरै छन्। अहिले चलेको ‘आयु द्रोण सुते...’ भन्ने मन्त्र विशेष गरेर उच्चारण गरिन्छ। त्योबाहेक भगवतीका अन्य मन्त्रहरु पनि उच्चारण गरेर टीका लगाउन सकिन्छ। सँगै मान्यजनहरुले मन्त्रमा नपुगेका, श्लोकमा नपुगेका कुरा आफूले नै भनेर पनि टीका लगाउने चलन छ।
(नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य भट्टराईसँगको कुराकानीमा आधारित। यो सामग्री नेपाल लाइभमा प्रथमपटक २०७८ असोज २९ गते प्रकाशित भएको थियो। )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।