काठमाडौं– कमाण्ड संरचनामा गएको एक वर्षलगत्तै नेपाली सेना पृतना संरचनामा फर्किएको छ। तीन जोड एकको नीति अनुसार कमाण्ड संरचनामा गएको सेनाले त्यतिबेला खारेज गरिएको पृतना हेडक्वाटर पुनः ब्युँत्याएको हो।
सेनाको आधुनिकीकरण गर्ने भन्दै नदी वेशिनका आधारमा (कोशी, गण्डकी र कर्णाली) एक वर्षअघि २०७८ साउन १ गतेदेखि नेपाली सेना पृतना हेडक्वाटर संरचनालाई खारेज गर्दै कमाण्ड संरचनामा गएको थियो। तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा उनकै योजना अनुसार पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चारवटा कमाण्ड संरचनामा सेना गएको थियो।
अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी सेनालाई समयानुकूल, व्यावसायिक तथा गतिशील बनाउन कमाण्ड संरचनामा लगिएको तत्कालीन प्रधानसेनापति थापाले बताएका थिए।
नदी क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्नसक्ने क्षमताको विकास, सीमा अनुगमन तथा सर्भे निर्देशनालयलाई समेट्नु परेकाले कमाण्ड संरचना आवश्यक रहेको बताइएको थियो।
उत्तर–दक्षिणका आधारमा भूगोल छुट्याएर कमाण्ड संरचनमा जाने हुँदा सबै प्रकारका चुनौतीहरु सामना गर्न सेना सक्षम हुने, समयमै पदोन्नति हुनेसमेतका महत्वाकांक्षी लक्ष्यहरु राखिएको थियो।
तर, कमाण्ड संरचनामा गएको एक वर्ष पुग्नेबित्तिकै भदौ २१ गतेको मन्त्रिपरिषद् निर्णयले पुनः पृतनाको संरचनामा ल्याएको छ। मन्त्रिपरिषद्ले पृतनालाई ब्युँत्याएपछि सैनिक मुख्यालय जंगी अड्डाले बुधबार पृतना हेडक्वाटरको तैनाथी तथा जनशक्ति व्यवस्थापनका लागि भन्दै एक परिपत्रसमेत गरेको छ।
‘नेपाली सेनाको तीन जोड एक कमाण्ड अवधारणा यथावत रहने गरी विगतमा रहेका ८ पृतनाहरुको पुनर्स्थापना गर्ने र पुनर्स्थापित पृतनाहरुलाई अनुसूची–१ (विगतमा प्रदान भइरहेको जिम्मेवारी क्षेत्र) अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकाले पृतना, बाहिनी, गण र गुल्महरुको दरबन्दी सांगठनिक पुनसंरचना–२०७८ कार्यान्वयन पूर्वको (२०७४ अनुसार) कायम रहने हुँदा सबैको लागि यो परिपत्र गरिएको छ’, उपरथी सागरबहादुर थापाद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख गरिएको छ।
यद्यपि सैनिक मुख्यालयले पठाएको परिपत्रमा उल्लेख भएअनुसार कमाण्ड संरचना भने खारेज भएको छ। कमाण्ड संरचनालाई यथावत नै राख्ने र पृतना संरचनालाई पुनर्स्थापित गर्ने पत्रमा उल्लेख गरिएको छ।
पृतनालाई ब्युँताएसँगै सेनामा पूर्वी पृतना, मध्यपूर्वी पृतना, मध्य पृतना, उपत्यका पृतना, पश्चिम पृतना, मध्यपश्चिम पृतना, उत्तर पश्चिम पृतना र सुदूरपश्चिम पृतना गरी ८ वटा पृतना कायम हुने भएको छ। यी पृतनाहरुलाई २०७४ अनुसार नै जिम्मेवारी क्षेत्र र दरबन्दी कायम गरिएको छ।
‘संरचनामात्रै नयाँ भएर हुँदैन। नयाँ संरचनामा गएपछि सबैचिज नयाँ हुनुपर्यो। हाम्रो जस्तो राजनीतिक स्थायित्व नभएको अवस्थामा सेनालाई आधुनिकीकरणको नाममा धेरै चलाउनु राम्रो हुँदैन’, पूर्व उपरथी बिनोज बस्न्यात भन्छन्, ‘राजनीतिक स्थिरता नभएको अवस्था र अहिले पनि अन्योलकै, ट्रान्जिस्नल पिरियडमा हामी छौं। त्यो सबैलाई वाच गरेर, रिसर्च गरेर कमाण्ड संरचनामा जानु पर्नेमा हतारमै गएको देखिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।