काठमाडौं– सत्तारुढ दलको सिट बाँडफाँटको टुङ्गो लगाउन बसेको कार्यदलको बैठक लम्बिएपछि शीर्ष नेताहरूको बैठक सारिएको छ।
बिहान ९ बजेदेखि कार्यदलको बैठक जारी छ। दिउँसो १ बजे शीर्ष तहमा बैठक बस्ने भनिएको थियो। तर, बिहानदेखि बसेको कार्यदलको बैठक नै नसकिएपछि शीर्ष नेताहरुको बैठक ३ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार बेलुका बसेको कार्यदलको बैठकले बिहीबार प्रतिवेदन दिने निर्णय गरेको थियो। सत्तारुढ दलभित्र आ–आफ्नै अडानमा दलहरु रहेपछि असहमतिकै प्रतिवेदन बुझाउने तयारी गरिएको थियो। सहमति हुन कसेका सिटहरुलाई उल्लेख गर्दै टुंगिन बाँकी सिटमा विवाद रहेको भनी कार्यदलले प्रतिवेदन दिने तयारी गरेको थियो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एक महिनादेखि सिट बाँडफाँटमा केन्द्रित छलफल गरिरहेका छन्। उनीहरुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाँटका लागि सहमतिको प्रयास गरिरहेका छन्।
हालसम्म कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादी र जसपाले ३० तथा राजमोले २ सिट प्रतिनिधि सभातर्फ दाबी गरेका छन्। केही क्षेत्रमा दोहोरो दाबी देखिएपछि शीर्ष नेतृत्वमै पुग्नुपर्ने देखिएको भन्दै बिहीबारका लागि बैठक राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।