काठमाडौं– सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बिहीबार पनि बस्दै छ। यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बस्नेगरि बोलाइएको छ। बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन बिहीबार नै शीर्ष नेताहरूलाई बुझाइनेछ।
पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ। त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो।
कार्यदलको बैठकमा सहभागी एक नेताका अनुसार बुधबारको बैठकमा सबै दलहरु आ-आफ्नै अडानमा देखिएका छन्। नेपाली कांग्रेसले १०० सिटवाट ९० मा झरेको छ भने माओवादी केन्द्रले ६०-५० को बिचमा चाहिने अडान रहेको छ।
त्यस्तै, माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टीले कम्तिमा ३० सिट पाउनुपर्ने दाबी गरेको छ। जसपाले पनि सोही अनुपातमा पाउनुपर्ने अडान राखेको छ।
यस्तै, जनमोर्चाले प्युठान र बाग्लुङमा दुई क्षेत्र चाहिने दाबी पेस गरेको ती नेताले बताए। बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने करिबकरिब सहमति भएको र बिहान ९ बजेदेखि प्रतिवेदन लेखन सुरु हुने बताएका थिए। मन्त्री कार्कीले सार्वजनिक रूपमा सहमतिनजिक पुगेको बताएपनि अवस्था त्यस्तो नरहेको कार्यदलका नेताले बताए।
‘सबै दल संख्यामा दाबीबाट वरपर भएका छैनन्। व्यक्ति व्यवस्थापनमा पुग्दा छलफल झन् सकसपूर्ण बनेको छ’ ती नेताले भने ‘शीर्ष तहमै टुंग्याउने गरी प्रतिवेदन बन्न सक्छ।’
असोज २ गते निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने समय तोकेकाले गठबन्धनल त्यसअघि सिट बाँडफाँटको सकस टुंग्याउनुपर्ने दबाबमा रहेको छ।
प्रत्यक्षतर्फ समेट्न नसकिएका व्यक्तिलाई समानुपातिकतर्फ राख्नुपर्ने बाध्यता कारण सत्तारुढ दलहरुले सिट बाँडफाँट टुंग्याउन निरन्तर बैठक बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।