विराटनगर– नेपाली कांग्रेस सोलुखुम्बुले आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।
जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय सभापतिहरुको संयुक्त बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य आङगेलु शेर्पाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवानिकट उनी नेपाली कांग्रेस सोलुका पूर्वसभापति पनि हुन्। एक मात्र निर्वाचन क्षेत्र भएको सोलुमा यसअघि बलबहादुर केसी उम्मेदवार बन्दै आएका थिए। २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमकुमार राईसँग उनी पराजित भएका थिए।
पार्टीका केन्द्रीय सदस्य केसीको नाम यसपटक प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस गरिएको छ।
सोलुको नेचा सल्यान–२ स्थित घरमा आमाको काजक्रिया गरिरहेका केसी अचानक बिरामी भएपछि आइतबार हेलिकोप्टरमार्फत् काठमाडौं लगेर उनको उपचार भइरहेको बताइएको छ। उनकी श्रमिती रिना उप्रेती केसीको नाम पनि प्रदेश सभामा समानुपातिकतर्फ सिफारिस भएको छ।
यसैगरी, प्रतिनिधि सभा समानुपातिकतर्फ केसीसहित पुरुषोत्तम बस्नेत, गोकर्ण राई, प्रभुराम बस्नेत, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, धर्म नेपाली र राधिका श्रेष्ठको नाम सिफारिस गरिएको छ।
प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ पार्टीका पूर्वजिल्ला सभापति विनोद बस्नेतसहित भलाकाजी कुलुङ, गणेश बस्नेत, कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ।
यस्तै, प्रदेश ‘क’को समानुपातिकतर्फ पूर्वजिल्ला सभापति छत्रध्वज बस्नेतसहित नातिकाजी गुरुङ, सरला नाछिरिङ, गीता गुरुङ, रिना उप्रेती केसी, जीवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम सिफारिस गरिएको छ।
प्रदेश सभा ‘ख’मा प्रत्यक्षतर्फ कर्मा शेर्पा, प्रेमबहादुर थापा मगर र साङगाबहादुर राईको नाम सिफारिस गरिएको छ। सो क्षेत्रबाट समानुपातिकतर्फ डोल्मा तामाङ, फुदोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंगलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सोलुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।