विराटनगर– मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले मोरङका ६ वटै क्षेत्रबाट आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले मोरङ–१ बाट स्थायी कमिटी सदस्य डा शिवमाया तुम्बाहाङफे र सांसद घनश्याम खतिवडासहित पाँच जनाको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ।तुम्बाहाङफे पूर्वउपसभामुख र पूर्वमन्त्री पनि हुन्।
खतिवडाले २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार डिकबहादुर लिम्बुलाई पराजित गरेका थिए। यस्तै, सोही क्षेत्रबाट अग्नि भट्टराई, राजेन्द्र पौडेल र रुद्र तामाङ प्रतिनिधि सभा खुल्लातर्फ उम्मेदवारका लागि सिफारिस भएका छन्।
मोरङ–२ बाट एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। पोखरेल २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसँग भीडेका थिए। जसमा उनी पराजित भएका थिए।
मोरङ–३ मा सोही क्षेत्रबाट यसअघि निर्वाचित भानुभक्त ढकालको एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। ढकालले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान महासमिति सदस्य एवं नोवेल मेडिकल कलेजका सञ्चालक डा सुनिल शर्मालाई पराजित गरेका थिए। यसपटक पनि शर्माको नाम त्यस क्षेत्रबाट सर्वसम्मत रुपमा कांग्रेसबाट सिफारिस भइसकेको छ।
मोरङ–४ बाट एमाले केन्द्रीय कमिटी सदस्य एवं मोरङ इञ्चार्ज विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ। २०७४ को निर्वाचनमा सो क्षेत्रबाट वाम गठबन्धनकाका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदीले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए। माओवादीले यसपटक पनि मोदीकै नाम सिफारिस गरिसकेको छ।
सत्ता गठबन्धनभित्र सो क्षेत्र यसपटक पनि माओवादीले नै दाबी गर्दै आएको छ। कांग्रेसले महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, अमृत अर्याल र दिलिप गच्छदारको नाम सिफारिस गरेको छ।
यसैगरी, मोरङ–५ बाट योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधा पासवानको नाम सिफारिस भएको छ। मण्डल पार्टी राजनीतिमा नयाँ अनुहार हुन। उनी जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हुन्।
मोरङ–६ बाट स्थायी कमिटी सदस्य एवं सोही क्षेत्रबाट निर्वाचित सांसद लालबाबु पण्डित र प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ। २०७४ को निर्वाचनमा पण्डितले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरेका थिए। पुरी विराटनगरमा नाम चलेको एक बोर्डिङ स्कुलका सञ्चालक हुन्।
सो बोर्डिङमा एमाले मोरङका इन्चार्ज विनोद ढकालको पनि साझेदारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।