ओखलढुंगा– माओवादी केन्द्रबाट ओखलढुंगामा राम (सुरेन्द्र कुमार) कार्की प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस भएका छन्। उनी यसअघि (२०७४ सालको निर्वाचनमा) झापा १ बाट निर्वाचित भएका थिए। कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजित गर्दै उनी विजयी भएका थिए।
अहिले उक्त क्षेत्रबाट सत्ता गठबन्धनले शर्मालाई उठाउने संकेत देखिएको छ। कांग्रेस महामन्त्री शर्मालाई झापा १ छाड्नकै लागि माओवादी केन्द्रका केन्द्रीय कमिटी सचिव रहेका कार्कीलाई ओखलढुंगाबाट प्रत्यक्ष उम्मेदवार सिफारिस गरिएको नेताहरुको भनाइ छ।
कांग्रेसले भने सर्वसम्मत सिफारिस गर्न सकेन। प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति प्रदीपकुमार सुनुवार, केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस गरेको छ।
समानुपातिकमा भने ५ जना सिफारिस भएका छन्। प्रतिनिधि सभा समानुपातिकमा महेश कोर्मोचा, गोमा केसी, बाला अधिकारी, डेकराज भट्टराई र हेमालक्षी राई छन्।
उक्त क्षेत्रबट नेकपा एमालेबाट यज्ञराज सुनुवार सांसद छन्। एमालेले अझै उम्मेदवारको टुंगो लगाइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।