काठमाडौं– भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बनमा रहेका विजयकुमार गच्छादार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएका छन्।
सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम सिफारिस गरेको हो। बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतको आदेशले निलम्बनमा रहेका उनलाई पनि उम्मेदवार हुने गरि सिफारिस गरेपछि यो विषय विवादित हुने देखिएको छ।
यसअघि रौतहटबाट मोहमद आफताव आलमको नाम पनि सिफारिस भएको थियो। आलम इँटाभट्टामा जिउँदै मानिस जलाएको अभियोगमा पूर्पक्षका लागि थुनामा छ्न्।
भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा दर्ता भएपछि गच्छादार २०७६ माघमा सांसदबाट निलम्बनमा परेका थिए। उनी मुद्दा दायर हुँदा फरार प्रतिवादी थिए भने पछि अदालत हाजिर भएर १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।