काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेशका लागि सुझावको आह्वान गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणापत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपंक्तिलाई भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको थियो।
पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ। अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझावसमेत दिइसकेका छन्।
एमालेले पार्टी कमिटीबाहिर रहेका शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझावको आह्वान गरेको हो। एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराउन भनिएको छ।
सुझावका लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत् सुझाव पठाउन चाहनेहरूले [email protected] मा पठाउन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।