काठमाडौं– चिनियाँ कांग्रेसका सभामुख ली चान्सु यही भदौ २७ गते तीन दिवसीय नेपाल भ्रमणमा आउने भएका छन्।
नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा भदौ २७ देखि २९ गतेसम्म उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।
सभामुख सापकोटाले अप्रिलको पहिलो हप्तानै चान्सुलाई निम्तो दिएका थिए। सभामुख सापकोटाको सचिवालयका अनुसार सभामुखको निम्तो र चिनियाँ कम्युनिस्ट पार्टीको अक्टोबरमा हुन गइरहेको २०औँ महाधिवेशनको पूर्व सन्ध्यामा भ्रमण हुन लागेको हो। भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन।
पछिल्लो २ महिनामा चिनियाँ पक्षबाट हुन लागेको यो उच्च तहको दोस्रो भ्रमण हो। गत असारको अन्त्यमा चिनियाँ विदेश विभाग प्रमुख लिउ चियानचाओ ४ दिने भ्रमणमा काठमाडौं आएका थिए। त्यस्तै, गत वर्षको चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको भ्रमण गरेका थिए। यसक्रममा नेपालबाट भने गत महिना परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षीको निमन्त्रणामा चीनको भ्रमण गरेका थिए।
चिनियाँ उच्च पक्षको नियमित नेपाल भ्रमणलाई महत्वकासाथ हेरिएको छ। मंसिरमा हुन गइरहेको निर्वाचन र सम्भावित राजनीतिक समीकरणलाई जोडेर अनेक चर्चा भइरहेको हो। तर सभामुख सापकोटाको सचिवालयले भने सभामुखको निम्तोमा हुन गइरहेको भम्रणलाई अन्यथा रुपमा नबुझ्न आग्रह गरेको छ।
सचिवालयका अनुसार चिनियाँ सभामुखको टोलीले सभामुखबाहेक राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च तहमा भेटवर्ता गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।