काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा बिहीबार दोस्रो दिन बयान सुरू भएको छ।
बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । उक्त महाभियोगमा बयान दिन पहिलो दिन उपस्थित भएका राणाले चारवटा मात्र प्रश्नको सामना गरेका थिए । उनले १२ बजेदेखि ४ बजेसम्म समितिमा आफ्ना कुरा राखेका थिए। राणाले अधिकांश समय आफ्नो कुरा भन्ने भन्दा अरुलाई आरोप लगाउनेमै खर्च गरेका थिए । महाअभियोग छानबिन समितिमा आज उनलाई समितिका सदस्यहरुले पाँचौ प्रश्नबाट बयान शुरु गरेका छन्।
छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निश्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ ।
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार राणा बयानका लागि समितिमा उपस्थित भएका हुन्।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो।
राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ। समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी छ।
६ महिनादेखि विचाराधीन महाअभियोगमा छानबिन गरी सिफारिस गर्न संसदले ११ सदस्य समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।