कञ्चनपुर- गठबन्धनको विरोध गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही ठाउँमा एमालेले पनि गठबन्धन गर्न सक्ने संकेत गरेका छन्।
बुधबार कञ्नपुरमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले स्थानीय स्तरमा मात्रै गठबन्धन हुने बताएका हुन्।
राष्ट्रव्यापी रुपमा एमाले एक्लै निर्वाचनमा होमिने बताउँदै स्थानीय स्तरको माग अनुसार गठबन्धन हुने उनले बताए।
'केही-केही ठाउँमा गठबन्धन हुनसक्छ। स्थानीय स्तरमा पार्टीले तालमेल गरे मान्नुपर्छ, देशभरि भने सूर्यको लहर अभियान हुन्छ। सूर्य चिह्न र सूर्यमा मतदान हुन्छ,' उनले भने।
मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने उनले दाबी गरेका छन्। गठबन्धनसँग नेता मात्रै भएका र जनता आफूसँग रहेको उनको भनाइ छ।
सत्तारुढ दलबाटै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको बताउँदै ओलीले आफ्ना लागिभन्दा पनि देशका लागि बहुमत ल्याउनैपर्ने दबाबमा एमाले रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।