काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूलाई जोडेर विभिन्न अनलाइन मिडियामा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पारेकी छन्।
महानगरपालिकाले अवैध संरचना हटाउन केही दिनदेखि डोजर अभियान चलाइरहेको अवस्थामा उपमेयर डंगोलको अनुपस्थितिलाई लिएर भइरहेको टिकाटिप्पणीपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरको अभियानमा आफ्नो समर्थन नरहेको भनी आएका समाचार भ्रमपूर्ण रहेको उल्लेख गर्दै कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएकी छन्।
'सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाइपछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ।', उनले लेखेकी छन्, 'त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो। म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु। त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।