दाङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले दाङमा रहेको टरिगाउँ एयरपोर्टको अवस्था देख्दा आफूलाई चिन्ता लाग्ने गरेको बताएका छन्। उनले भने, 'टरिगाउँ एयरपोर्टको बिजोग देख्दा दुःख लाग्छ।'
तुलसीपुर नगर जेसिजले आयोजना गरेको अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले टरिगाउँ एयरपोर्ट स्तरवृद्धि गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए। ‘एउटा एयरपोर्ट नेपालगञ्जमा छ, त्यहाँको मौसम खराब हुँदा वैकल्पिक एयरपोर्ट चाहिन्छ। त्यो एयरपोर्ट दाङलाई बनाउनु पर्छ।' उनले भने, ‘त्यसका लागि हामी सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्छ।’
टरिगाउँ एयरपोर्ट ऐतिहासिक भएको भन्दै यसलाई स्तरवृद्धिका लागि स्तरीय विज्ञ ल्याउनु पर्ने नेता गिरीले बताए। ‘एयरपोर्टका सन्दर्भमा विज्ञहरु पनि दुई धारमा देखिन्छन्, कसैले १७०० मिटर बनाउन मिल्छ भन्छन्, कसैले धावनमार्ग विस्तार गर्न मिल्दैन भन्छन्।’ उनले भने, ‘यसरी हुँदैन्, अब स्तरीय विज्ञ ल्याएर एयरपोर्टलाई स्तरबवृद्धि गर्नुपर्छ।’
'पुल पुलेसामा अर्बौं बजेट विनियोजन गर्न सकिने तर, एयरपोर्टलाई विनियोजन गर्न सकिँदैन भन्ने कुरा उचित होइन' उनले भने, 'अब २/४ अर्ब नै छुट्याउन सकिन्छ।' त्यसका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।