काठमाडौं– केही दिनदेखि सक्रियरुपमा अवैध संरचना भत्काउन डोजर लिएर हिँडेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राहदानी विभागलगायतले धमाधम पार्किङ खुलाउन थालेपछि आफूले यत्ति चाहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा राहदानी विभाग र एक नीजि कम्प्लेक्सको सूचनालाई राख्दै यस्तो लेखेका हुन्। शाहले हिजो बुद्धनगरस्थित अल्फाबिटासहितको संरचनामा डोजर लगाएका थिए भने आज राहदानी विभागको वेसमेन्ट खाली गराएका थिए।
‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहीरुपमा प्रयोग होस्। यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ’ उनले लेखेका छन्, ‘अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ। महानगरको यो अभियान सँधै रहनेछ। हामी पुनः अनुरोध गर्दछौं, कृपया ! नियमको पालना गरिदिनुहोला। महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।