काठमाडौं– काठमाडौं महानगरपालिकाले राहदानी विभागको अन्डरग्राउन्ड पार्किङस्थल खाली गराएको छ। पार्किङ लागि बनाइएको बेसमेन्टमा प्रतिक्षालय बनाइएको पाइएपछि महानगरको टोलीले शुक्रबार खाली गराएको हो।
महानगरले उक्त पार्किङस्थल खाली गराएलगत्तै राहदानी विभागले सूचना जारी गरेर आइतबारदेखि उक्त स्थान पार्किङकै लागि प्रयोग हुने जनाएको छ।
यसअघि आवेदकहरुका लागि होल्डिङ एरियाका रुपमा प्रयोग हुँदै आए पनि महानगरले खाली गराएकाले आइतबारदेखि पार्किङका लागि मात्र उपयोग हुने विभागले सूचनामा उल्लेख गरेको छ।
साथै विभागले अबदेखि लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि विभागमा आउन अनुरोध गरेको छ। राहदानी आवेदनका लागि आवेदकहरु फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन पनि विभागले सूचना जारी गरेको छ।
साथै तयार भएको राहदानी लिन आउने सेवाग्राही साविक झै गेट नम्बर २ बाट मात्र प्रवेश गरिदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भीडभाड नगरिदिन पनि विभागले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।