काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरु काठमाडौं महानगरपालिकाले हटाएको छ।
सेवा लिन जाने सेवाग्राहीले आफ्ना सवारीहरु विभागको बाहिर (सडक) मा पार्क गर्नुपर्ने बाध्यता रहेको र त्यसले समग्र सवारी आवागमनमा असर पुगेको पाइएपछि महानगरको टोलीले शुक्रबार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा प्रतीक्षालय बनाएको पाइएको थियो। महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेञ्चहरु हटाएर पार्किङका लागि खाली गराएको हो।
काठमाडौं महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनमा सवारी पार्किङका लागि भनेर बेसमेन्ट बनाउन ‘कर छुट’ को सुविधा लिइए पनि पार्किङको लागि नभइ अन्य प्रयोजनमा प्रयोग भएको पाइएपछि महानगरपालिकाले साउन महिनामै ३५ दिने सूचना जारी गरेको थियो।
उक्त सूचनाको पालना गरेको नपाइएपछि महानगरपालिकाले स्थलगत अनुगमन नै थालेर अवैध संरचनाहरु हटाउन सुरु गरेको थियो।
अवैध संरचना हटाउन मेयर बालेन्द्र शाह आफैं अग्रसर भएका छन्। तर, शुक्रबार राहदानी विभागमा भने मेयर शाह उपस्थित भएनन्। त्यहाँ महानगर प्रहरीसहितको टोलीले संरचना हटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।