काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको प्रचार/प्रसारमा विदेशी नम्बरका सवारीसधानको प्रयोग गर्न नदिने प्रस्ताव गरेको छ।
आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बरप्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा यसअघि भारतीय नम्बरप्लेटका सवारी साधनलाई चुनावी प्रचारमा प्रयोग गर्ने गरिएको थियो।
त्यस्ता सवारीसाधनहरुले नेपालमा दुर्घटना गराउँदा कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको विषय यसअघि उठ्ने गरेको थियो। सोही विषयलाई सम्बोधन हुनेगरी आयोगले चुनाव प्रचारमा विदेशी नम्बरप्लेटका सवारीको प्रयोग गर्न नदिने गरी आचारसंहिता तयार पारेको हो।
‘बढीमा २ वटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न सकिने छ,’ प्रस्तावित आचारसंहितामा उल्लेख छ, ‘तर विदेशी नम्बरप्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।