काठमाडौं– निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि उम्मेदवारलाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव ल्याएको छ।
आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचारप्रसारका क्रममा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्ने उल्लेख छ।
स्वतन्त्र उम्मेद्वारहरूले प्राय: प्रयोग गरिरहेको राष्ट्रिय झण्डा अब बढीमा १० वटासम्म प्रयोग गर्न पाउने गरि आचारसंहिता ल्याउन लागेको हो। त्यस्तै, प्रचार प्रसारका क्रममा २५ जना भन्दा बढी व्यक्तिहरु सहभागी हुन नपाउने आयोगको प्रस्ताव छ।
चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्न सक्ने, आयोगले तोकेको भन्दा बढी खर्च गर्ने भएकाले प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउन प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी, उम्मेद्वारहरुले मौन अवधि सुरु हुनुपूर्व १५ दिनअघि मात्रै प्रचार प्रसार गर्न पाउने प्रस्ताव गरिएको छ।
आयोगले सोमबार निर्वाचन आचारसंहिताका विषयमा दलहरूसँग छलफल गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।