तस्बिर : रासस
काटमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा मार्ल्यापण गरी अध्यक्ष प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन्। श्रद्धाञ्जलिपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरिले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्याएको बताए। उनले भने, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरि राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो।”
देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरिको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो। “गिरिको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ। राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो”, अध्यक्ष प्रचण्डले भने।
यसैगरी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले पनि गिरिप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्। नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरिको उपचारका क्रममा गएराति निधन भएको थियो। उनीप्रति श्रद्धाञ्जलि अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र सुभेच्छुकको घुइँचो लागेको छ। उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्याइएको हो। गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।