काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बसेर नागरिकता विधेयक हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ।
प्रतिनिधि सभामा पुनर्विचारका लागि सन्देशसहित पठाइएको विधेयक विषयको निर्णय संसदले नै गर्न पाउनुपर्ने एमालेका सांसद प्रदिप ज्ञवालीको भनाइ छ।
आफूले सार्वजनिक सञ्चारमाध्यमबाट हुबहु फिर्ता पठाउने निर्णय भएको सुनेको भन्दै उनले भने, 'हिजो मात्रै उहाँहरुले जस्ताको त्यस्तै फिर्ता पठाउने निर्णय गर्नुभएछ। सत्तारुढ दलको नेतृत्व गरिरहेको दल आफूलाई संसदीय व्यवस्थाको हिमायती र एकमात्र पक्षधर भन्छ। बन्द कोठामा बसेर संसदको अधिकार संकुचित गर्न मिल्छ कि मिल्दैन? यसरी संसदको गरिमा कायम हुन्छ कि हुँदैन?'
राष्ट्रपतिको सन्देशबाट सुधार गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको उनले बताए। यो अवसरलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ छ।
राष्ट्रपतिले विशेषगरी लैंगिक समानता, आमाको अधिकार र महिलाको आत्मसम्मान जस्ता कुरामा ध्यानाकर्षण गराएको भन्दै ज्ञवालीले संशोधन हुनुपर्ने बताए। दलीय विभाजन भन्दा पनि विषयको गम्भीरतामा ख्याल गर्नुपर्ने उनले बताए। यो टाउको भन्दा पनि विवेक गणना गर्ने समय भएको उनको भनाइ थियो।
यसअघि पनि नागरिकता विधेय जबर्जस्ती पास गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।