काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्।
मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका हुन्।
मेयर राईले बिहीबार बिहान आफ्नो फेसबुक पेजबाट कामको विवरण सार्वजिनक गर्दै एक नम्बरमा श्रम संस्कृतिको क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्।
उनले धरानवासीलाई खानेपानीको सुविधा दिन चार वटा मुहान थपेको, ६ लाख विरुवा रोपेकोलगायतका काम गरेको जनाएका छन् । यसका लागि उनले स्थानीय वासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन्।
साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ।
बैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा लौरो चुनाव चिह्न लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार राई २० हजार ८२१ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका थिए।
उनले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन्।
यस्तो छ राईले एक सय दिनमा आफूले गरेका काम भनेर सार्वजनिक गरेको विवरण:
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषधविरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।