काठमाडौं– लगातार ६ दिन घटेर सोमबार उच्च अंकले बढेको सेयर बजार मंगलबार पुन: ओरालो लागेको छ। साप्ताहिक कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा झर्यो।
यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सिटिभ इन्डेक्स ३.७५ अंकले घटेर ३९४.३९ विन्दुमा झर्यो।
यसअघि साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार भने सेयर बजार ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको थियो।
सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने बढेको छ। मंगलबार सेयर बजारमा २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबार भने सेयर बजारमा २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
मंगलबार कारोबारमा आएका सबै समूहको उपसूचक ओरालो लागेको छ। सबैभन्दा बढी जलविद्युत् समूहको उपसूचक ३.१८ प्रतिशतले घट्यो।
मंगलबार कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयरमूल्य बढेको छ। सबैभन्दा बढी अपर हेवाखोला हाइड्रोपावल कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो।
मंगलबार ५० वटा कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। सबैभन्दा बढी युनिलिभर नेपालको सेयरमूल्य ५.६२ प्रतिशतले घट्यो। यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.५१ प्रतिशतले घट्यो। मंगलबार ६ वटा कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।