काठमाडौं– आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज मंगलबार सकिँदैछ।
सरकारले चुनावको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो। साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दर्ता हुन आयोगले भनेको थियो। नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ।
आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन्। तीमध्ये आउँदो चुनावमा भाग लिन सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका छन्। प्रमुख दलमध्ये नेपाली कांग्रेसले अहिलेसम्म दर्ता गरेको छैन। माओवादी पनि दर्ता भएको छैन।एमाले, एकीकृत समाजवादी, जसपालगायतका दलहरू भने दर्ता भइसकेका छन्।
दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।