काठमाडौं– बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीका विषयमा कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति विवादास्पद भएपछि उनले विज्ञप्ति निकालेर माफी मागेका छन्। तर, विज्ञप्तिमा प्रयोग गरिएको घुमाउरो भाषाले उनले आफूले बोलेका तथ्य भने ठिकै रहेको आशय व्यक्त हुन्छ।
'बंगलादेशमा हाल २ हजारभन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ', विज्ञप्तिमा भनिएको छ, 'ती विद्यार्थीले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो।'
विज्ञप्तिमा प्रयोग गरिएको भाषाले उनले कार्यक्रममा बोलेको तथ्य भने ठिकै रहेको सन्देश दिएको छ। साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले आफूलाई सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए।
'हामी हाम्रा छोरीचेलीहरुलाई पढ्नलाई विदेशमा पठाउँछौं। तर उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन', मन्त्री तामाङले भनेका थिए।
उनले विज्ञप्तिमा भनेजस्तो २ हजार नेपाली छात्रा बंगलादेशमा अध्ययन गरिरहेका छैनन्। त्यहाँ मेडिकल अध्ययनरत जम्मा नेपाली विद्यार्थीको संख्या नै २ हजारभन्दा केही बढी मात्र छ। उनले यति तथ्यसमेत ख्याल नगरी विज्ञप्ति जारी गरेका छन्। यो विषय यहाँ चर्चा गर्न खोजिएको भने होइन। यद्यपी मन्त्रीले विज्ञप्ति जारी गर्दा कतिसम्म हचुवाको भरमा गरेका छन् भन्ने एउटा उदाहरण चाहिँ हो।
आज जारी गरिएको विज्ञप्तिमा उनले 'बंगलादेशमा अध्ययनरत नेपाली छात्रा विद्यार्थीले शरीर सुम्पिनुपर्ने' तथ्य सही नै रहेको आशय व्यक्त गरेका छन्। 'नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेको छ', विज्ञप्तिमा भनिएको छ, 'नेपाली विद्यार्थीहरुले विदेशमा गई चिकित्सा विषय अध्ययन गर्नुको विकल्पमा नेपालमा नै सो विषयमा अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीहरुले त्यस्ता समस्या भोग्ने अवस्था अन्त्य हुन्छ भन्ने मेरो आशय हो।'
मन्त्री तामाङले हिंसाजन्य केही घटनाको उजुरी समेत आएको बताएका छन्। तर, उनले कस्ता उजुरी परेको हो र त्यसको समाधानका निम्ति के पहल भइरहेको छ भन्ने उल्लेख गरेका छैनन्।
उनले माफी भने छात्राहरुमा पर्न गएको चोटप्रति मात्रै मागेका छन्। 'मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु', विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा तथ्य चाहिँ ठिक तर चोट पुगेकोमा माफी माग्ने आशय व्यक्त गर्नुभएको छ नि भन्ने नेपाल लाइभको प्रश्नमा मन्त्री तामाङले भने, 'मेरो धारणा जति विज्ञप्तिमा उल्लेख छ, त्यति नै हो। थप मलाई केही भन्नु छैन।
प्रस्तावित मेडिकल कलेज बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंको यस्तै विषयमा बोलेको भिडियो सार्वजनिक भएपछि विरोध भएको थियो। कानुनमन्त्रीका तर्फबाट पनि सोही आशयको भनाइ सार्वजनिक भएपछि आलोचना भइरहेको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्री तामाङको अभिव्यक्तिलाई दुखद भनेका छन्। आइतबार एक ट्विट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्– 'कानुनमन्त्रीको टिप्पणी अत्यन्त दुखद छ। सरकारको गम्भीर ध्यान जाओस्।'
कानुनमन्त्रीले जारी गरेको विज्ञप्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।