काठमाडौं - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउँदै छ।
चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो।
बिहीबार तयार गरेको प्रतिवेदन समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए। प्रतिवेदनमा के कुरा लेखिएको छ भन्ने उनले खुलाएनन्। प्रतिवेदन हेरिसकेपछि सबै जानकारी हुने उनले जवाफ दिए।
समितिले पूर्व अर्थमन्त्री शर्मासहित अर्थमन्त्रालयका अधिकारीसँग जाँचबुझ, सीसीटीभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो।
गत असार २२ गते संसद्ले ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेको थियो। सोही दिन जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।