फाइल तस्बिर
काठमाडौं— कोटेश्वर बस्ने शर्मिला विकको कोठामा कहिले त दुई हप्ताभन्दा बढी फोहोर थुप्रिन्छ। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्ने उनी काठमाडौं महानगरको फोहोर उठाउने गाडी कहिले आउँछ थाहै पाउँदिनन्। नियमित र एउटै समयमा नआउँदा कोठाभित्रै फोहोर थुप्रिने उनी बताउँछिन्।
तर, काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन गरेको सार्वजनिक सूचना राम्रो लागेको छ। यस्तो काम धेरैअघि सुरु गरेको भए राम्रो हुने उनी बताउँछिन्।
‘हामी जस्ता घरभाडामा बस्नेका लागि सानो ठाउँ हुन्छ। महानगरले महिना दिनसम्म पनि फोहोर नउठाएर घरमा कुहिने अवस्था बनेको छ,’ विक भन्छिन्, ‘पहिलो त, समयमा फोहोर उठाउनुपर्छ। त्यस हुन नसके नजिकको पायक पर्ने ठाउँमा कुहिने र नकुहिने फोहोर थुपार्ने ठाउँको व्यवस्था गरिनुपर्छ।’
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याउन सूचना जारी गरेको थियो। वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ मा पनि कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।
स्रोतमा नै नछुट्याए फोहोर संकलन नगर्ने पनि काठमाडौं नगरपालिकाले जनाएको थियो। त्यति मात्र नभइ फोहोर नछुट्याउनेलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गर्ने पनि सूचनामा उल्लेख थियो। महानगरपालिकाले ‘स्रोत’ भनेर फाहोर फ्याँक्ने महानगरबासीलाई जनाएको हो।
थापाथलीका निर्जन विश्वकर्मा पनि कुहिने र नकुहिने फोहोर छुट्याउन सम्भव रहेको बताउँछन्। उनी भन्छन्, ‘भान्सामा दैनिक चाहिने उपभोग्य सामग्री ल्याउँदा दुई दिनमा नै धेरै फोहोर जम्मा हुन्छ। घरवाला हुन् वा भाडामा बस्ने, प्रायःले डस्टबिन प्रयोग गर्दैनन्। कतिपयले पुराना भाडाकुडामा फोहोर जम्मा गर्छन्। अब दुई थरि भाँडा प्रयोग गरेर फोहोर छुट्याउनुपर्छ।’
काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषी विभागका प्रवक्ता नवीन मानन्धरका अनुसार अब हरेक आइतबार र बुधवार कुहिने फोहोर तथा सोमबार र बिहीबार नकुहिने फोहोर उठाइने छ। हाल महानगरका २४ वटा गाडीले फोहोर उठाउँछन्। सिसाजन्य फोहोर भने नियमित उठाइँदैन। नकुहिने र प्लाष्टिकजन्य फोहोर दिनमा दुई पटकसम्म उठाउने विषयमा छलफल भैराखेको मानन्धरले बताए।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले कुहिने र नकुहिने फोहोर छुट्याउन समस्या नभएको बताएका छन्। ‘कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ। फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको छ। वास्तवमा एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौं,’ मेयर शाहले भने।
तर, एउटा कोठा मात्र भाडामा लिएर बसिरहेको परिवारका लागि बेग्लाबेग्लै भाडामा फोहोर संकलन गर्न समस्या हुने गुनासो पनि आएको छ। ती समस्याका लागि पनि महानगरले सहजता गर्ने मेयर शाहको भनाइ छ। ‘अहिले जे जति स्रोत र साधनहरु छन्, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ,’ उनी भन्छन्।
काठमाडौंस्थित फोहरमैला तथा श्रोत परिचालन केन्द्रका पूर्वमहाप्रबन्धक डा. कुल मरहट्टा भने फाहोर छुट्याएर मात्र समस्या समाधान नहुने बताउँछन्। तर, समस्या समाधानको सुरुआत भने हुने उनको भनाइ छ। ‘आजकै आज फोहोर व्यवस्थापन हुन्छ भन्ने होइन, तर व्यवस्थापनको सुरुआत भने हो,’ उनले भने।
मरहट्टाका अुनसार बेलायतमा फोहोर जम्मा गर्ने चार प्रकारका भाँडा राखिएका हुन्छन्। उनी भन्छन्, ‘उनीहरुले यसको राम्रो अनुगमन पनि गर्ने गरेका छन्। तोकिएको भाँडाअनुसार फोहोर राखिएको छ कि छैन हेर्छन्। छ भने उठाउँछ, छैन भने पहिलो पटक चेतावनी दिएर सिकाउने र दोस्रोमा फोहोरै नलैजाने गर्छन्।’
नेपालमा यसरी कडाइ गर्न कति सम्भव छ? मरहट्टा भन्छन्, ‘कडाइका साथ गर्ने हो भने फोहोरको समस्या समाधान हुन्छ। सिसडोल अल्पकालीन नै थियो, तर बञ्चरेडाँडा दीर्घकालीन समाधानका लागि बनाइएको ल्याडफिड साइट हो।’
प्रवक्ता मानन्धर पनि घरमा नै कुहिने र नकुहिने फोहर छुट्याउन सम्भव रहेको बताउँछन्।
उनी भन्छन्, ‘फोहोर छुट्याउन ठूलो भाडा चाहिन्छ भन्ने छैन। कुहिने एउटामा, नकुहिने एउटामा र सिसाजन्य फोहोरलाई अर्कोमा गरेर प्लाष्टिकका तीनवटा भाँडा प्रयोग गरे हुन्छ।’ मानन्धरका अनुसार महानगरले साउन १ गतेदेखि नै कुहिने र नकुहिने फोहोर छुट्याएर उठाउन थालिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।