काठमाडौं- उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुसाल उम्मेदवार बनेकी छिन्। उनलाई एमालेकी विद्या भट्टराईले चुनौती दिँदैछिन्।
बिहीबार उनीहरु दुवैले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी छन्। त्यस्तै, भट्टराईको प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन्।
भुसाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन्। भट्टराई भने उनका श्रीमान् तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनबाट निर्वाचित भएकी हुन्। उनले कास्की- २ बाट २४३९४ मत सहित जितेकी थिइन्। उनका निकट प्रतिस्पर्धी कांग्रेसका खेमराज गुरुङले १५९९१ मत मात्रै पाएका थिए।
भुसाल २०७४ सालमा पनि उपसभामुखको प्रतिस्पर्धी बनेकी थिइन्। त्यतिबेला एमाले-माओवादी केन्द्रको सत्ता गठबन्धनको साझा उम्मेदवार शिवमाया तुम्बाहाङ्फेसँग उनी पराजित भएकी थिइन्।
२०७४ चैत २ गते भएको उपसभामुखको निर्वाचनमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा उनको पक्षमा ६१ मत परेको थियो। विपक्षमा २०१ मत परेको थियो।
भुसालपछि तुम्बाहाङ्फेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा उनको पक्षमा २०१ मत परेको थियो। उनको विपक्षमा ५८ मत मात्रै परेको थियो।
त्यतिबेलाको एमाले-माओवादी केन्द्रको सत्ता गठबन्धन अहिले भत्किसकेको छ। यसबीचमा दुवै पार्टी मिलेर नेकपा पनि बनाएका थिए। तर कालान्तर नेकपा मात्रै विभाजित भएन, एमाले पनि विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भइसकेको छ।
अहिलेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमो छन्।
प्रतिनिधि सभामा कांग्रेसका ६३ सिट (त्यसमा दुई निलम्बित), माओवादी केन्द्रका ४९ सिट (त्यसमा एक सभामुख), नेकपा एकीकृत समाजवादीका २३ र जसपाका २० सिट (त्यसमा दुई निलम्बित) र राजमोको १ सिट छन्। सत्ता गठबन्धनको मत जोड्दा भुसालको जित निश्चित देखिन्छ।
एमाले र लोसपाबीच निकटता देखिँदै आएको छ। राष्ट्रिय सभाको निर्वाचनमा पनि यी दुई दलबीच तालमेल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।