काठमाडौं- उपसभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ।
एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्।
उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्। यसअघि एमालेले लोसपाले उम्मेदवार उठाए समर्थन गर्ने जनाएको थियो।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छिन्। उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी छन्।
उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो १ बजे हुनेछ। त्यसअघि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
त्यस्तै, बिहीबार १:३० बजे दर्ता भएका उम्मेदवारिको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा 'प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने' कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।