काठमाडौं- उपसभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टीको उम्मेदवारलाई सघाउने भएको छ। तर उसले उम्मेदवारी नदिए भने आफ्नै उम्मेदवार उठाउने एमालेको तयारी छ।
एमाले सांसद कृष्ण भक्त पोखरेलले लोसपाले नदिए विद्या भट्टराईलाई उम्मेदवार बनाउने तयारी रहेको नेपाल लाइभलाई बताए। विद्या भट्टराईको फाराम भरेर तयार राखिएको उनको भनाइ छ।
उम्मेदवार उठाउने बारे लोसपाले औपचारिक निर्णय भने गरेको छैन।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छिन्। उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी छन्।
उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो १ बजे हुनेछ। त्यसअघि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
त्यस्तै, बिहीबार १:३० बजे दर्ता भएका उम्मेदवारिको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा 'प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने' कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।