काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीहरुका ३० लाख कार्यकर्ता भए पनि उनीहरुसँग वैज्ञानिक चेतना नभएको बताएका छन्।
नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी ´नीति सम्वाद` विषयक कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले वैज्ञानिक चेतना नभएको कार्यकर्ता भएपछि 'रुलिङ क्लास'ले गाडी र साडीवाला क्लाससँग लगनगाँठो जोड्ने र राष्ट्र दोहन गर्ने बताए।
उनले पार्टीभित्र प्रश्न गर्ने मान्छे नजन्माउने गरिएको बताए। 'विज्ञानले प्रश्न गर्ने मान्छे जन्माउँछ, आस्था र भक्ति गर्ने मान्छे होइन। हामीलाई पार्टीहरुमा भक्ति गर्ने मान्छे चाहिन्छ। अनि तिनीहरु सत्तामा गएर वैज्ञानिक चेतना ल्याउँछन्? ल्याउँदैनन्', उनको भनाइ छ।
प्रश्न गर्ने मान्छेले मात्रै विज्ञानको विकास गर्दै जाने उनको भनाइ छ। 'वैज्ञानिक पार्टीले, वैज्ञानिक चेतनाको पार्टीले वैज्ञानिक राज्य बनाउँछ। त्यो राज्यमा विज्ञान सुरक्षित रहन्छ। 'धर्मो रक्षति रक्षितः' भन्छौं नि, जसले धर्मलाई रक्षा गर्छ, त्यसलाई धर्मले रक्षा गर्छ भनेजस्तै जसले पार्टीभित्रैबाट विज्ञानको रक्षा गर्छ, त्यसलाई विज्ञानले रक्षा गर्नेछ', उनले भने।
भुसालले वैज्ञानिक चेतना विकासका लागि कतै न कतैबाट हस्तक्षप गर्नुपर्ने बताए। 'राम्रो शिक्षा प्रणालीबाट हस्तक्षप गर्दा पनि हुन्छ। कर्मचारीतन्त्र राम्रो बनाएर हस्तक्षेप गर्दा पनि हुन्छ। जहीँबाट गर्दा पनि हुन्छ', उनले भने, 'तर कहीँ न कहीँबाट हस्तक्षेप चाहियो। सबैभन्दा सजिलो, प्रभावकारी र हुँदै आएको अरुले गरेर हुँदैन, राजनीतिक नेतृत्वले नै गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।