काठमाडौं– सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट खर्चको १७.५० प्रतिशत रकम वैदेशिक सहायताबाट ल्याएको छ।
सरकारले ‘वैदेशिक सहायता–विकास’को तथ्यांक विश्लेषण गर्दै २०७७/०७८ मा नेपाल सरकारको कूल खर्च ११ खर्ब ९६ अर्ब ६७ करोडमध्ये २ खर्ब ९ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक सहायताबाट लिइएको बताएको छ।
यो आर्थिक वर्षको बजेटमा अनुमान गरिएको वैदेशिक अनुदान ६०.२८ प्रतिशत र वैदेशिक ऋण ५७.७५ प्रतिशत प्राप्त भई समग्रमा अनुमानित रकमको ५८.१७ प्रतिशत वैदेशिक सहायता प्राप्त भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
सरकारले प्रतिबद्धता गरेको सहायतामध्ये २३.२१ प्रतिशत मात्र प्राप्त भएको छ। प्राप्त भएको रकममध्ये अमेरिकी डलर २६५.४५ मिलियन र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट खर्च भएको १५४.६१ मिलियन अमेरिकी डलर बजेटरी प्रणालीभन्दा बाहिर रहेको अवस्था छ।
समग्रमा प्राप्त विकास सहायता रकमको ७७.९५ प्रतिशत मात्र संघीय सञ्चित कोषमार्फत् परिचालन भएको र बाँकी २२.०५ प्रतिशत सहायता बजेट बाहिरबाट परिचालन भएको अवस्था छ।
बजेट वक्तव्यका साथै संसद्मा पेस भएको प्राविधिक तथा अन्य सहायतासम्बन्धी विवरणमा संघीय सरकारका १८ मन्त्रालय निकायअन्तर्गत १२४ आयोजना तथा कार्यक्रमका लागि यो वर्ष ८५ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मार्फत् १२० आयोजना/कार्यक्रमका लागि ९३ अर्ब ६१ करोड ३९ लाख रुपैयाँसमेत १ खर्ब ७९ अर्ब १९ करोड ३१ लाख रुपैयाँ प्राविधिक सहायता प्राप्त हुने उल्लेख छ। उक्त रकममध्ये खर्च भएको रकम आर्थिक विवरणमा समावेश भएको देखिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।