काठमाडौं– महालेखा परीक्षकको प्रतिवेदनमा सवैभन्दा धेरै बेरुजु मधेस प्रदेशको देखिएको छ। मधेस प्रदेशको ५.४२ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
सवैभन्दा कम बेरुजु भने लुम्बिनी प्रदेशको छ। लुम्बिनी प्रदेशको १.१८ प्रतिशत मात्रै बेरुजु छ। प्रदेश १ को ३.५६ प्रतिशत, बागमती प्रदेशको १.६० प्रतिशत, गण्डकी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको ५.१५ प्रतिशत र सुदुरपश्चिम प्रदेशको २.१८ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फको लेखापरीक्षण रकम ३ खर्ब १४ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ रहेकोमा ८ अर्ब ३८ करोड ५४ लाख बेरुजु कायम रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
सरकार मातहत सरकारी कार्यालय, अन्य संस्था र समितितर्फको गत वर्षसम्मको बाँकी बेरुजु १२ अर्ब ९९ करोड १३ लाख रुपैयाँ रहेकोमा सम्परीक्षणबाट १ अर्ब ७२ करोड ४६ लाख फर्स्यौट भइ ११ अर्ब २६ करोड ६७ लाख रुपैयाँ बाँकी रहेको र यो वर्ष ८ अर्ब ३८ करोड ५५ लाख थप भइ अद्यावधिक बेरुजु १९ अर्ब ६५ करोड २२ लाख रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयेल जनाएको छ। सो रकममा ४ अर्ब १० करोड ७ लाख रुपैयाँ पेस्की रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।