म्याड्रिड– स्पेनिस समर्थकहरुले राष्ट्रिय टिमका डिफेन्डर जेरार्ड पिकेको मजाक उडाएका छन्। फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार राति अल्बानियाविरुद्धको खेलमा केही सर्मथकहरुले क्याटालोनिया आन्दोलनको समर्थन गरेको भन्दै पिकेको माजक उडाएका हुन्।
स्पेनबाट अलग हुनुपर्ने मागसहित गत साता क्याटालोनियावासीले गरेको जनमत संग्रहलाई स्थानीयवासी पिकेले खुलेरै समर्थन गरेका थिए। महारथी क्लब बार्सिलोनाका डिफेन्डर पिकेले मतदानमा समेत भाग लिएका थिए। तर म्याड्रिड क्षेत्रका फुटबल समर्थकले पिकेको कदमको विरोध गर्दै आएका छन्।
शुक्रबार घरेलु मैदानमा भएको अल्बानियाविरुद्धको खेलमा पिकेले बल छुनेबित्तिकै समर्थकहरुले हुटिङ गर्दै मजाक उडाएका हुन्। खेलमा जबजब ३० वर्षीय डिफेन्डर पिकेले बल छुन्थे तब रंगशालामा मजाकस्वरुप धेरै समर्थक चिच्याएका थिए। केही समर्थकले 'पिके आउट' लेखिएको ब्यानर समेत प्रदर्शन गरेका थिए।
खेलमा पहेँलो कार्ड पाएको पिकेले सोमबार इजरायलविरुद्धको खेल गुमाउनेछन्। पिकेसँगै मिडफिल्डर डेभिड सिल्भाले पनि जेरुसेलमान हने खेल गुमाउनेछन्। समर्थकहरुले पिकलाई मजाक उडाएको खेलमा ३–० को जित निकालेको स्पेन विश्वकपका लागि छनोट भयो। स्पेनको जितमा रोद्रिगोले १६, इस्कोले २३ तथा थियागोले २६ मिनेटमा गोल गरे।
यसअघि प्रशिक्षणको दौरान पनि समर्थकहरुले पिकेको विरोध गरेका थिए। प्रशिक्षण गर्दा समर्थकले 'पिके आउट' लगायतका ब्यानर देखाएका थिए। क्याटालोनियाको स्वतन्त्रताका पक्षमा पिकेले अभ्यास गरिरहँदा कतिपय स्पेनी प्रशंसकले उनीविरुद्ध नाराबाजी गरेका थिए। त्यसैले राष्ट्रिय टोलीले सोमबार अभ्यास नै रद्द गरेको थियो।
गत आइतबार क्याटालोनियालाई स्पेनबाट छुट्ट्याएर बेग्लै राज्य बनाउन जनमत संग्रहलाई सरकारले अबैधानिक घोषणा गरे पनि पिकेले स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए। उनले प्रहरीको दमनको विरोध गर्दै जनमत संग्रह गर्नु सबैको अधिकार भएको बताएका थिए। 'म क्याटालन हुँ र सधैँ हुनेछु। क्याटालन हुनुमा गर्व गर्छु' उनले भनेका थिए। साथै उनले उनले स्पेनिस राष्ट्रिय टिमबाट अलग हुनु सक्ने समेत बताएका थिए।
क्याटालोनिया प्रान्तले धेरै वर्षयता स्पेनबाट छुट्टिएर स्वतन्त्र राज्य बन्ने प्रयास गरिरहेको छ। यसका लागि क्याटालोनियाले जनमत संग्रह गरेको थियो। तर स्पेन संवैधानिक अदालतले जनमत संग्रहलाई अवैध घोषणा गरेपछि मतदान केन्द्र राखिएका विद्यालयमा प्रहरीले हस्तक्षेप गरी मतपेटिका कब्जा गरेको थियो। यस क्रममा प्रहरी–सर्वसाधारण झडप समेत भएको थियो।
स्पेनी प्रहरीले गरेको दमनविरुद्ध हजारौं क्याटालोनियावासीले विशाल प्रदर्शन गरेका थिए। स्पेनको प्रहरीले गरेको दमनपूर्ण कारबाहीको विरोधमा क्याटालोनियाका व्यापारिक संगठनले हड्तालको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।