काठमाडौं– भारतीय सुरक्षाकर्मीको योजनाबद्ध षड्यन्त्रमा परी एक सातादेखि थुनामा रहेका सीमारक्षक देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा हुने भएका छन्।
यादवका तर्फबाट बहस गरिरहेका अधिवक्ता प्रभाकर सिंहले अपहरण गरिएको दाबी गरिएकी बुहारी ज्योति, छोरा अजय र देवनारायणको बयान शुक्रबार सकिएको जानकारी नेपाली सुरक्षाकर्मीलाई दिएका छन्। न्यायिक तथा प्रशासनिक प्रक्रियामा कुनै अलमल नभए उनी आज छुट्नेछन्।
जिल्ला सत्र न्यायालय वीरपुरमा चलिरहेको थुनछेक बहसपछि शनिबार न्यायाधीशले दुवैलाई सामान्य तारेखमा वा अति न्युन धरौटीमा रिहा गर्ने सम्भावना रहेको अधिवक्ता सिंहले नेपाली पक्षलाई जानकारी दिएका छन्। सिंहको भनाइ उद्धृत गर्दै सप्तरीका एसपी मुकेशकुमार सिंहले भने, ‘शनिबार रिहा हुने भन्ने जानकारी पाएका छौं।’
देवनारायणकी बुहारी ज्योतिका परिवारलाई नाबालिग छोरी अपहरण गरेर विवाह गरेको एफआइआर दर्ता गर्न लगाएर भारतीय पक्षले अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा उनीहरुलाई असोज १५ मा पक्राउ गरेको हो।
सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण भारतीय सुरक्षाकर्मीको बलमिच्याइँविरुद्ध निरन्तर लड्दै आएका थिए। जानकारहरुका अनुसार सीमारक्षा अभियानको नेतृत्वमा रहेका देवनारायणलाई कारबाही गरेर भारतीय पक्ष अभियान तुहाउने षड्यन्त्रमा लागेको हो।
अदालतमा अपहरित भनिएकी ज्योतिले आफूले राजीखुसी अजयसँग भागी विवाह गरेको र खुसी साथ जीवनयापन गरिरहेको बयान दिएकी छन्।
भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका देवनारायणका छोरासहित तीन जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर अन्यलाई छाडे पनि अजयलाई छोडेको थिएन। छोरा अजयलाई छुटाउन गएका देवनारायणलाई समेत प्रहरीले हिरासतमा लिएको थियो। मुद्दाका विषयमा यादव परिवारलाई कुनै जानकारी नै थिएन।
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रस्थित खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।
केही महिनाअघि नेपाली भूमि रक्षाका लागि भारतीयसँग लड्दा उनी सख्त घाइते भएका थिए।
गृहमन्त्री जनार्दन शर्माले घटनामा चासो राख्दै केन्द्रबाट समेत यादवको रिहाइका लागि पहल गरेपछि नेपाली पक्षले लगातार भारतीय समकक्षीसँग रिहाइका लागि प्रयास जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।