म्याड्रिड – पूर्व च्याम्पियन स्पेन फिफा विश्वकप २०१८ मा छनोट भएको छ। युरोप छनोटको समूह 'जी' अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियामाथि ३–० गोलको जित निकालेर स्पेनले अन्तिम खेलअघि नै रसियाको टिकट पक्का गरेको हो।
स्पेनको जितमा रोद्रिगोले १६, इस्कोले २३ तथा थियागोले २६ मिनेटमा गोल गरे। जितपछि स्पेनले समूहमा २५ अंक जोड्यो। समूह 'जी' मा रहेको अर्को पूर्व च्याम्पियन इटाली भने प्ल अफमा धकेलिएको छ। इटालीले म्यासेडोनीयासँग १–१ को बराबरी खेल्यो। समूहमा इटालीले २० अंक जोड्यो।
समूह 'डी' को भिडन्त रोचक बनेको छ। अन्तिम खेल अघि समूह 'डी' को शीर्ष स्थानमा रहेको सर्बियाले १८ तथा दोस्रो स्थानको वेल्सले १७ अंक जोडेका छन्। १६ अंक जोडेर तेस्रो स्थानमा रहेको आयरल्यान्डको पनि छनोट सम्भावना बाँकी नै छ। शुक्रबार भएका खेलमा सर्बियालाई अस्ट्रियाले ३–२ ले पराजित गरेपछि वेल्स र आयरल्यान्डलाई फाइदा पुग्यो। वेल्सले भने जर्जियालाई १–० ले हरायो। आयरल्यान्डले माल्डोभामाथि २–० को जित निकाल्यो।
समूह 'आई' मा आइसल्यान्ड छनोट नजिक पुगेको छ। आइसल्यान्डले टर्कीलाई ३–० ले हरायो। यहि समूहको अर्को खेलमा क्रोएसिया र फिनल्यान्डले १–१ को बराबरी खेले। युक्रेनले कोसोभोलाई २–० ले पराजित गर्यो। समूह 'आई' को शीर्ष स्थानको आइसल्यान्डले १९ अंक जोडेको छ भने दोस्रो स्थानको क्रोएसिया र तोस्रो स्थानको युक्रेनको समान १७–१७ अंक छ। अन्तिम खेलमा जित हात पारे आइसल्यान्ड पहिलपटक विश्वकपमा छनोट हुनेछ।
एक वर्षपछि रसियमा हुने विश्वकपमा लागि अहिलेसम्म ११ टिमले स्थान पक्का गरिसकेका छन्। आयोजक रसियासहित युरोपबाट स्पेन, बेल्जियम, जर्मनी र इंग्ल्यान्ड गरी पाँच टिम छनोट भएका छन्। एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। उत्तर अमेरिकाबाट मेक्सिको तथा दक्षिण अमेरिकाबाट ब्राजिलले विश्वकपमा स्थान बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।