काठमाडौं– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरुमाथि छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ।
निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दा परेका उजुरीमाथि छानबिन गरी उक्त कमिटीले कारबाही सिफारिस गर्न सक्नेछ।
एमालेको आइतबार बसको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन्।
सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने, ‘निर्वाचनका समस्या अनुशासनहीनता र अराजकता भएको भन्दै उजुरी परेको छ। उक्त उजुरीमाथि छानविन गर्न समिति बनाउने निर्णय भएको छ।’
यसैगरी प्रदेश र जिल्ला कमिटीले स्थानीय तह निर्वाचनबारे समीक्षा असार मसान्तभित्र गरिसकेर केन्द्रमा पठाउनुपर्ने भनिएको छ।
चौतर्फी घेराबन्दीबीचमा पनि प्रथम शक्ति बनेको मूल सन्देश लिएर आगामी निर्वाचनमा जाने निर्णय पनि एमालेको छ।
वर्तमान परिणाम अपेक्षा भन्दा कम रहेको बताउँदै त्यसमा आन्तरिक समस्या समेत रहेकाले त्यसलाई अन्त्य गर्ने एमालेको निर्णय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।