काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक कमलादीस्थित प्रज्ञा भवनमा केहीबेरअघि सुरु भएको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अजेन्डा प्रस्तुत गरेका छन्।
नयाँ सदस्यहरुको सपथ ग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध अजेण्डामा छलफल हुने प्रचण्डले बताए।
बैठकका अजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले बैठकमा भनेका थिए। तर सुझाव नआएपछि यी अजेण्डा पास भएको प्रचण्डले जानकारी दिए।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। खासगरी महासचिवको विवादले पदाधिकारी चयनमा विलम्ब भएको छ।
महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ।
थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।