सुर्खेत– वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरेकी छन्।
उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरेकी हुन्। एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ।
मल्लले २५ लाख एक हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोष पनि स्थापना गरेकी छन्। क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि ७८ लाख २८ हजार ८८२ लागत लागेको बताए।
क्याम्पसका लागि मल्लले एक करोड तीन लाख २९ हजार ८८२ दान स्वरुप प्रदान गरेकी थिइन्। खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो।
शुक्रबार एक कार्यक्रमकाबीच राज्यमन्त्री यादवद्वारा भवनकोे उद्घाटन एवं हस्तान्तरण गरिएको छ। मन्त्री यादवले दान स्वरुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिइन्।
शिक्षा क्याम्पसका प्रमुख माधवप्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक संकटका आरोह–अवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको औल्याए।
यद्यपी यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उनले चिन्ता व्यक्त गरे। खनालका अनुसार अहिले क्याम्पसमा ३७ मात्र कर्मचारी रहेका छन्।
राज्यले वास्ता नगरेका कारण केही कर्मचारी आफैंले राखेको उनको भनाइ छ। आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरुप अगाडि बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।