काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। थाइल्यान्ड र श्रीलंकाका एयरलाइन्सले पछिल्लो पटक उडानको अनुमति पाएका हुन्।
थाइल्यान्डको थाई स्माइल एयरवेजले शुक्रबार र श्रीलंकाको श्रीलंकन एयरलाईन्सले आगामी असार २२ देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरू गर्न लागेको हो। श्रीलंकन एयरलाइन्सले भने फेरि फर्केर आएको हो। उक्त एयरलाइन्सले कोभिड–१९ महामारीको समयमा उडान स्थगन गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले काठमाडौँ–बैंकक सिधा उडान सुरू गर्न लागेको छ। सो कम्पनीले हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ।
नेपालका लागि थाई स्माइलको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ। थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो।
श्रीलंकन एयरलाइन्सले पनि सातामा सात वटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जीएसए जेनिथ ट्राभल्सले जनाएको छ। यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।