पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ। रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार रूपैयाँ सहयोग गरेको हो।
दर्जीको घरमै पुगेर नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष दिवाकर देवकोटालगायतले सो रकम हस्तान्तरण गरे।
समस्यामा परेका बालबालिकालाई आपत्कालीन बाल उद्धार कोषबाट आर्थिक सहयोग गरिएको आपत्कालीन सञ्चालन समितिका संयोजक एवं नगर प्रमुख थापाले बताए।
पछिल्लो समय भारतमा नियमित उपचार गराउँदै आएका दर्जीलाई थप उपचार तथा शैक्षिक सामग्री खरिद गर्न सहज होस् भनेर सहयोग गरिएको हो। आमा बेलमायाले धेरैको सहयोगले छोराको उपचारमा सहज भएको बताइन्।
यसैबीच आपतकालीन बाल उद्धार कोष सञ्चालन नियमावली, २०७७ को परिच्छेद १ को नियम २ बमोजिम रामपुर नगरपालिका–२ का सङ्गीत थापालाई उपचारका लागि तथा प्रतिमा कुमाल र पूजा कुमाललाई शैक्षिक सामग्री खरिद गर्न २०/२० हजार रूपैयाँ प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।