काठमाडौं- पद्मश्री पुरस्कार २०७८ का लागि १५ पुस्तकको 'विस्तारित सूची' सार्वजनिक भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारका लागि २०७८ मा प्रकाशित पुस्तकमध्ये १५ वटाको सूची निकालेको हो।
२०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १४४ पुस्तक प्राप्त भएका बताइएको छ। यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि निर्णायक समितिले प्रतिष्ठानलाई पन्ध्र कृतिको सिफारिस उपलब्ध गराएको हो।
जसमा नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, दीननाथ शर्माको एक सम्बोधन समयमाथि, राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, लोकराज भट्टको छाइल रहेका छन्।
यस्तै, दिलिप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखमा हिमाल, उषा हमालको मिक्षुसँग प्रेम, विप्लव ढकालको भोजपुरको वाङमय, बसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको सङ्ग्राहलय र गिरिश गिरीको सत्यमोहन रहेका छन्।
खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।
२०७८ देखि पुस्तक चयन प्रक्रियालाई पारदर्शी र अधिकतम सहभागितामूलक गराउने उद्देश्यले स्वतन्त्र निर्णायक समितिको सिफारिसमा चयन प्रक्रिया तीन चरणमा गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्।
उक्त प्रयोजनका लागि राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो।
चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट पन्ध्र पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने लामिछानेले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।