काठमाडौं– किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि सात कृतिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल बिनाबीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’ छन्। त्यसैगरी राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’ छन्।
एकेडेमीका तर्फबाट अध्यक्ष भुपाल राई र महासचिव चेतनाथ धमलाले प्रकाशित गरेको विज्ञप्तिमा कृति छनोटको आधार पनि प्रकाशित गरिएको छ। एकेडेमीका अनुसार प्रतिरोधी साहित्य, क्षेत्रीय एवम् समावेशी वाङ्मयको अध्ययन, समाजवादी अर्थराजनीति, दलित सौन्दर्य चेतनालाई कृति छनोटको आधार बनाइएको छ। त्यस्तै उपेक्षित इतिहासको अध्ययन, समालोचनामा नयाँ आयाम र इतिहासको भौतिकवादी अध्ययनजस्ता आधारमा कृति छानिएको उल्लेख छ।
यसअघि यो पुरस्कार युग पाठकको 'उर्गेनको घोडा' र झलक सुवेदीको 'ब्रिटिश साम्राज्यका नेपाली मोहरा'लाई दिइएको थियो। तर, कोभिड महामारी र उद्देश्य अनुकूलका कृति अभावमा पुरस्कार केही वर्ष स्थगित गरिएको थियो। अब भने यसलाई निरन्तरता दिइने अध्यक्ष भूपाल राईले बताए।
प्रारम्भिक सूचीमा परेका कृतिबाटै पुरस्कारका लागि छनोट गरिने अध्यक्ष राईको भनाइ छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।