कराची (एजेन्सी)– पाकिस्तानका पूर्व स्टार ब्याट्सम्यान इन्जमाम उल हकका भतिजा इमाम पाकिस्तानको एकदिवसीय टिममा छनोट भएका छन्। इन्जमाम हाल पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) को मुख्य छनोटकर्ता छन्। र, उनले नै श्रीलंकाविरुद्ध सयुक्त अरब इमिरेट्स (युएई) मा हुने एकदिवसीय शृंखलाका लागि छनोट गरेको १५ सदस्यीय टोलीमा आफ्नो भतिजालाई पनि स्थान दिएका हुन्।
च्याम्पियन्स ट्रफी जितेको पाकिस्तानी टोलीमा एक जना खेलाडी मात्र परिवर्तन गरिएको छ। ब्याट्सम्यान अजहर अलीको ठाउँमा इमाम उल हकलाई टिममा स्थान दिइएको हो।
बोर्डले टिमको घोषणा गर्ने क्रममा भनेको छ, ‘अजहरलाई शृंखलामा विश्राम दिइएको छ। उनी पूर्णरुपले फिट होउन भनेर,’ श्रीलंकाविरुद्ध टेस्ट शृंखलाभन्दा पहिले अजहरको घुडामा समस्या देखिएको थियो। उनलाई त्यतिबेला इन्जेक्सन लगाएर पनि टिममा समावेश गरिएको थियो।
बायाँ हातका ब्याट्सम्यान २१ वर्षीय इमामले राष्ट्रिय टिममा स्थान बनाउनुअघि ३१ प्रथम श्रेणी क्रिकेट र २४ ए श्रेणीको क्रिकेट खेलेका छन्।
इन्जमामले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपछि आफ्नो भतिजालाई मौका दिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।